जीवन : आदिमता र वर्तमानको ‘फ्युजन' - व्यक्ति विशेष - विचार-विमर्श

नयाँ

Saturday, November 9, 2019

जीवन : आदिमता र वर्तमानको ‘फ्युजन' - व्यक्ति विशेष



       मलाई बारम्बार सम्झना आउँछ- भीमसेनको धरहरा र मेरा ८४ वर्षीय हजुरबुवा... । ६० वर्षपहिले नौ दिनको यात्रा तय गरेर नेपाल (काठमाडौं) आएका मेरा हजुरबुवा ६० वर्षपछि ६ घन्टामा ओर्लिएका थिए उही नेपाल । किशोरवयमा अनेकौं डाँडाकाँडा छिचोल्दै हेर्दै, जहान-परिवारलाई लत्ताकपडा किनिदिने सोच बोकेर नेपाल आइपुगेका त्यति बेलाका हजुरबुवा आज छ दशकपछि दुवै आँखाको दृष्टि गुमनाम गरेर आइपुगेका थिए । हिजो घ्यू बेच्न आइपुगेको नेपालसँग हजुरबुवाको एउटै पुकार थियो- मलाई मेरो नेपाल हेर्नसक्ने बनाइदेऊ...!
प्रा.डा. रामप्रसाद पोखरेल (आँखाबा)
काठमाडौंको वर्तमान अवस्था र भीमसेनकृत धरहरा हेर्ने सपनाको साक्ष्य अर्थात् हजुरबुवाको बीपीकोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जमा शल्यक्रिया हुँदै थियो । यसैबीच मैले शल्यक्रियामा संलग्न चिकित्सकसँग हजुरबुवाको धरहराबाट काठमाडौं हेर्ने सपना सुनाइसकेको थिएँ । यस मानेमा पनि शल्यक्रियाको भोलिपल्ट मैले उनको आँखाको पट्टी धरहरामै पुगेर खोलेँ । हजुरबुवाले काठमाडौंलाई दोस्रोपटक निकै गहिरोसँग हेरे । हजुरबुवाको अनुहार पढिरहेको मलाई यस्तो लाग्यो कि जसरी कुनै व्यक्तिले पहिलोपटक भेटेको बच्चालाई एकैपटक प्रौढावस्थामा पुगेपछि भेटेको छ ।

निकै बेर आँखालाई काठमाडौंभरि पोखेर हजुरबुवाले मतिर फर्केर एकै सासमा भने, ‘उपचार गर्न ल्याउने मेरो नाति र उपचार गर्ने ती डाक्टर बाबुलाई कहिल्यै कुनै रोग नलागोस्... ।'
म निःशब्द बनेँ । सयपत्री फूलझै पत्रैपत्र बनेका हजुरबुवाको निधार र गालामा उर्लेको आश्चर्यमिश्रित खुसीले उनलाई किशोरवयमा फर्काइरहेझै लाग्थ्यो ।
उपर्युक्त घटनाको साक्ष्य पात्र मैले धेरै समयपछि थाहा पाएँ कि मेरो हजुरबुवाको मोतियाबिन्दु भएको आँखाको सफल शल्यक्रिया सम्पन्न गर्ने डाक्टरका डाक्टर रहेछन् आँखाबा उर्फ प्रा.डा. रामप्रसाद पोखरेल । हजुरबुवाबाट प्रेरित भएको नातिको ‘आदर्श चरित्र' डाक्टर पोखरेललाई भेट्ने र उनका जीवनका केही ऊहापोहलाई खोतल्ने योजना धेरै वर्षपछि अन्ततः यी हरफसम्म आइपुग्यो ।
                                                     ०००
बिरामीको उपचार गर्न पाउनु अहोभाग्य हो भन्ने कविराज आयुर्वेदाचार्य पिता नरपति पोखरेलको स्कुलिङबाट सुरु भएको डाक्टर पोखरेलको शिक्षादीक्षा विश्वको प्रथम मानिएको राष्ट्र बेलायत, अमेरिकासम्म पुगेर फैलियो । वैद्य परम्पराबाट सुरु भए पनि उनको शिक्षा मेडिकल साइन्समा केन्द्रित बन्यो । यसले उनलाई आँखाको विशेषज्ञ बनायो । उनले बेलायतबाटै औपचारिक कार्य सुरु गरे । नौ वर्षसम्म बेलायतको प्रतिष्ठित कलेजमा पढे । प्रतिष्ठित अस्पतालको उच्च पदीय जागिरे भए । यद्यपि उनलाई विदेशी मोहले छोएन ।
उनका थुर्पै साथी ग्रिनकार्ड पाएर अमेरिकामा सेटल भएको समाचारले उनलाई बारम्बार पिरोलिरह्यो । उनलाई पनि अमेरिका जाऊँजाऊँ लाग्यो । मन बहकियो । बेलायतको काम छाडेर अमेरिका जाने सोच पनि बनाए । तर, मनको दोबाटोमा उनी नराम्ररी अल्झिए । उनका सामुन्ने तीन विकल्प एकसाथ खडा भयो- ग्रिन कार्डका लागि अमेरिका जाने, उच्च पदमा जागिरे भई बेलायतमै बस्ने अथवा मातृभूमिको ऋण तिर्न नेपाल फर्कने । ­अन्ततः उनले जीवनका तीन विकल्पमध्ये तेस्रोलाई छाने र मातृभूमिको अटुट सेवा गर्ने दृढसंकल्प बोकेर सन् १९७१ को जुलाईमा काठमाडौं फर्किए ।
बेलायतबाट काठमाडौं फर्कंदा उनीसँग शैक्षिक ज्ञान र भविष्यका योजनाबाहेक केही थिएन । न बस्ने घर थियो न त कुनै व्यवसाय । विवाह नगरेको भर्खरको खाइलाग्दो युवक त्यसमाथि पनि बेलायतबाट उच्च शिक्षा हासिल गरी फर्केको । उनलाई पाएर तत्कालीन सरकार बडो खुसी भयो । तत्काल स्वास्थ्य सेवा विभागले घुम्ती आँखा शिविरमा जान प्रेरित गर्‍यो । उनले ठाने वीर अस्पतालको कोठाभित्र सीमित भएर गुम्सनुभन्दा मोफसलमा पुगेर जनमत बटुल्नु र तिनका समस्याको अध्ययन गर्नु उचित हुनेछ । यही निर्णयले उनलाई आँखाको बादशाह बनाइदियो । यसरी उनी जनताको आँखाबा बन्न पुगे ।
                                              ०००
कठोर परि श्रम, समर्पण, प्रतिबद्धता र पारदर्शिता मान्छेको मन जित्ने महत्ववपूर्ण औजार हुन् । यस्तै अनुभवका जीवित साक्ष्य पोखरेललाई आजको स्थितिसम्म ल्याइपुर्‍याउने महत्ववपूर्ण साध्य नै अन्धोपन निवारण, रोकथाम र आँखा अस्पतालको स्थापनामा उनले पुर्‍याएको खास योगदान हो । नेपाल आएपछि उनले सुरुमा वीर अस्पतालमा बसेर आँखासम्बन्धी तथ्यांक केलाए । अनि निष्कर्ष निकाले- मेरो जीवन आँखाकै निम्ति बनेको हो ।



             उनका थुर्पै साथी ग्रिनकार्ड पाएर अमेरिकामा सेटल भएको समाचारले उनलाई बारम्बार पिरोलिरह्यो । उनलाई पनि अमेरिका जाऊँजाऊँ लाग्यो । मन बहकियो । बेलायतको काम छाडेर अमेरिका जाने सोच पनि बनाए । तर, मनको दोबाटोमा उनी नराम्ररी अल्झिए । उनका सामुन्ने तीन विकल्प एकसाथ खडा भयो- ग्रिन कार्डका लागि अमेरिका जाने, उच्च पदमा जागिरे भई बेलायतमै बस्ने अथवा मातृभूमिको ऋण तिर्न नेपाल फर्कने । ­अन्ततः उनले जीवनका तीन विकल्पमध्ये तेस्रोलाई छाने र मातृभूमिको अटुट सेवा गर्ने दृढसंकल्प बोकेर सन् १९७१ को जुलाईमा काठमाडौं फर्किए ।
         बेलायतबाट काठमाडौं फर्कंदा उनीसँग शैक्षिक ज्ञान र भविष्यका योजनाबाहेक केही थिएन । न बस्ने घर थियो न त कुनै व्यवसाय । विवाह नगरेको भर्खरको खाइलाग्दो युवक त्यसमाथि पनि बेलायतबाट उच्च शिक्षा हासिल गरी फर्केको । उनलाई पाएर तत्कालीन सरकार बडो खुसी भयो । तत्काल स्वास्थ्य सेवा विभागले घुम्ती आँखा शिविरमा जान प्रेरित गर्‍यो । उनले ठाने वीर अस्पतालको कोठाभित्र सीमित भएर गुम्सनुभन्दा मोफसलमा पुगेर जनमत बटुल्नु र तिनका समस्याको अध्ययन गर्नु उचित हुनेछ । यही निर्णयले उनलाई आँखाको बादशाह बनाइदियो । यसरी उनी जनताको आँखाबा बन्न पुगे ।
०००


         कठोर परि श्रम, समर्पण, प्रतिबद्धता र पारदर्शिता मान्छेको मन जित्ने महत्त्वपूर्ण औजार हुन् । यस्तै अनुभवका जीवित साक्ष्य पोखरेललाई आजको स्थितिसम्म ल्याइपुर्‍याउने महत्ववपूर्ण साध्य नै अन्धोपन निवारण, रोकथाम र आँखा अस्पतालको स्थापनामा उनले पुर्‍याएको खास योगदान हो । नेपाल आएपछि उनले सुरुमा वीर अस्पतालमा बसेर आँखासम्बन्धी तथ्यांक केलाए । अनि निष्कर्ष निकाले- मेरो जीवन आँखाकै निम्ति बनेको हो ।
           त्रिपुरेश्वरको गेस्ट हाउसमा बसेर उनले अहोरात्र बिरामीको सेवा गरे । सन् १९७४ देखि १९७८ सम्मको अवधिमा आँखा अस्पतालको स्थापना र विकासमा गर्न सकिने कार्यहरूको योजना बनाए । सन् १९७८ मा भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ‘निवारण गर्न सकिने अन्धोपन' विषयक सम्मेलनमा भाग लिन स्वास्थ्य मन्त्रालयले उनलाई मनोनयन गर्‍यो । जहाँ पुगेर उनले आफू एक्लै अन्धोपन निवारणमा लागेको र आफूलाई सहयोगी व्यक्ति तथा संस्थाको खाँचो भएको कुरा सुनाए ।प्रारम्भिक दिनहरूमा आँखाका बिरामीका लागि ठूलो समस्या थियो । वीर अस्पतालमा १६ वटा शय्या र दुईवटा आँखा विशेषज्ञ थिए । हप्तामा जम्माजम्मी तीन घन्टा शल्यक्रियाका निम्ति समय उपलब्ध हुन्थ्यो । ती शय्या आँखा पाकेर पिपले भरिएको अवस्थाका रोगको लागि बढी प्रयोग गरिन्थ्यो । दुवै आँखामा मोतीबिन्दु भएका बिरामीका लागि अपरेसन गराउन वर्ष दिनभन्दा बढी कुर्नुपर्थ्यो । पैसा हुनेहरू भारत गएर शल्यक्रिया गराउँथे, पालो पाएकाहरू उपचार गरेर फर्कन्थे । यी दुवैको पहुँच बाहिरका व्यक्तिहरू आँखाको ज्योति गुमाएर बस्न विवश हुन्थे । यही बेचैनीले उनलाई नेपाल आँखा अस्पताल खोल्ने बनायो ।
            उनका कुरा सबैका लागि उत्प्रेरणाको विषय मात्र रहेन, सु श्री निकोल ग्रासेट नाम गरेकी सहभागीले आएर डाक्टर पोखरलेलाई सहयोग गर्न आफू आतुर रहेको कुरा व्यक्त गरिन् । छलफल भएको केही हप्तापछि निकोल नेपाल आइन् र नेपालको विद्यमान आँखा उपचारको स्थिति र अन्धोरोगको विकराल समस्याको अध्ययन गरेपछि युरोप फर्किन् । अन्ततः उनै निकोल डाक्टर पोखरेलको अन्धोरोग निवारणको महत्त्वपूर्ण अंग बनिन् । उनले युरोपका विभिन्न मुलुकबाट आर्थिक संकलन गर्नुका साथै विश्व स्वास्थ्य संगठनसँग मिलेर डाक्टर पोखरेलको ‘अन्धोपन निवारण र रोकथाम' अभियानलाई मूर्त रूप दिलाइन् ।
                 विश्व स्वास्थ्य संगठनले तयार गरेको ‘दृष्टि २०२०'मा अन्तर्निहित भावनाअनुसार दृष्टिको अधिकारलाई सन् १९९९ को सार्क सम्मेलनपश्चात् नेपालले अनुमोदन गर्‍यो । यसपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी रोग निवारणार्थ सम्बद्ध सबै पक्षलाई समावेश गराएर उच्चस्तरीय समिति बनायो । यसले नीतिगत विषयमा निर्णय गर्ने अधिकार राख्छ । काठमाडौं उपत्यकाबाहिरका सबै खाले आँखा सेवा नेपाल नेत्रज्योति संघको अधीनमा कार्यरत छन् । नेत्रज्योति संघका संस्थापक तथा अध्यक्ष पोखरेलको एकल प्रयासबाट सुरु भएको आँखाको अन्धोरोग निवारण सामूहिकतामा बदलियो । पोखरेलको भागिरथी यत्न ३२ वर्षपछि काठमाडौं उपत्यकामा रहेको नेपाल आँखा अस्पतालसँगै देशभर १६ वटा आँखा अस्पताको स्थापना र विकासमा गति लियो ।
०००


         डाक्टर पोखरेलको जीवनमा तीन नारी पात्रहरू निकै महत्त्वपूर्ण ठहरिए । स्वर्गीय बडामहारानी ऐश्वर्य जसले उनलाई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को तत्कालीन अध्यक्षको हिसाबले खुलेर सहयोग गरिन् । दोस्रो व्यक्ति निकोल ग्रासेल, जसले ठूलो आर्थिक सहयोग गरिन्, आँखा रोग उपचार र तत्सम्बन्धी अस्पताल खोल्न खास योगदान दिइन् र तेस्रो उनकी जीवन सारथि शोभाना पोखरेल । यिनै तीनको महान् त्याग-तपस्या र सहयोगमा रामप्रसाद पोखरेल ‘ड्रिम प्रजेक्ट-अन्धोपन निवारण र रोकथाम' सफल तुल्याउने डीआर पोखरेल बने ।
             अंग्रेजीमा एउटा भनाइ छ- ‘लभ विइङ्स विथ टमी' अर्थात् माया पेटबाट सुरु हुँदो रहेछ । शोभाना पोखरेलले पकाएको खानेकुरा खाएपछि विस्तारै उनीप्रति पोखरेलको दृष्टि गहिरो बन्दै गयो । धर्म, संस्कृति, ज्ञानविज्ञान सबैतिरको ‘नलेज' राख्ने शोभाना उनको जीवनको एउटा महत्ववपूर्ण पात्र बन्न थालिन् । पोखरेल कटट्टर ब्राह्मणको छोरा शोभाना गुरुङकी छोरी । शोभाना ‘प्योर साइन्स'को विद्यार्थी पोखरेल ‘मेडिकल साइन्स'को । लन्डनबाट सुरु भएको उनीहरू प्रेमको मुना नेपाल आएपछि फूल बन्यो ।
            डाक्टर पोखरेललाई शोभानाले कहिल्यै कुनै व्यक्तिगत प्रलोभनमा फसाइनन् । उनले ढिपि गरेको भए उनी बेलायत अथवा अमेरिकामा नै बस्थे होला । शोभाना उनलाई बारम्बार घोचिरहिन्- डाक्टर पोखरेल, मातृभूमिको ऋण तिर्नू । विदेशी मोहमा कहिल्यै नफस्नू ।
         पोखरेल दम्पतीको आजसम्मको यात्रा नियाल्दा लाग्छ- शोभाना, पोखरेलको जीवन यात्राकी कमान्डर हुन् । उनले शतप्रतिशत गुन लगाएकी छन् श्रीमान्लाई । जीवनको एउटा आँखा बनेकी छन् । जति पोखरेलले अन्धोपन निवारणमा काम गरेका छन्, त्योभन्दा बढ्ता उनले गरेकी छन् । पोखरेलले नटेकेको नेपाली भूमि छैन । त्योभन्दा बढ्ता टेकेकी छन्- शोभानाले । उकाली-ओराली, घाम-पानी केही भनिनन् । छोरी सोनीलाई पनि उत्तिकै माया-संस्कार दिइन् । उनी जहाँजहाँ पुगे उनको साथ-सहयोग सशरीर त्यहीँ-त्यहीँ पुगिरह्यो । वास्तवमा जीवन भन्नु सुखदुःखको संयोग रहेछ । त्यसमाथि पनि पुरुष होस् या महिला, असल जीवनसाथीको उपस्थिति सदैव पाउन सक्यो भने मृत्युलाई पनि जित्दो रहेछ । यो पोखरेल दम्पतीबाट प्राप्त जीवन सहयात्राको निष्कर्ष हो । दाम्पत्य निष्कर्ष ।
०००


            आँखामा मात्र होइन । साहित्यमा पनि उत्तिकै रुचि राख्छन् डाक्टर पोखरेल । उनीसँग लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा तथा बीपी कोइरालाका किस्साहरू रहेछन्- गज्जब-गज्जबका ।
             लक्ष्मीप्रसाद देवकोटाको ‘कवि हुने धुनमा' स्वयंको निबन्धसंग्रह ‘दाडिमको रुखनेर'मा पढेको थिएँ । पोखरेलसँग कुरा गर्दै जाँदा अचानक देवकोटाको किस्सा जन्मियो र पहिलोपटक पत्ता लाग्यो- देवकोटाको ‘कवि हुने धुनमा' निबन्धको रचना गर्भ । पोखरेलकै शब्दमा...
              ‘लक्ष्मीप्रसाद देवकोटा मलाई असाध्यै मन पर्ने कवि । उनीसँगको भेटको रमाइलो किस्सा छ । सात सालको कुरा हो । कविजीलाई भेट्ने रहर बोकेर भरतराज जोशी र म दुई डिब्बा पूmलमार चुरोटका साथ कविजीको घर मैतीदेवी पुग्यौं । कालो मोटो घुङ्रिएको केश, धोती र गन्जी लगाएका, ओछ्यानलाई बैठक बनाई तकियालाई लेख्ने टेबुल बनाएर बसिरहेका कविजी यस्तै हुलियामा थिए । रुघाले असाध्यै सताइएको बेला हामी पुगेका थियौं ।
नाकबाट सिँगान बगिरहेको । रुमालको अभाव देखिन्थ्यो । आफूले लेखेका अमूल्य कविताका पाना च्यात्दै सिँ-सिँ गर्दै थिए । हामीले हाम्रो परिचय र भेटको प्रयोजन बतायौं । अनि सुरु भयो देवकोटाजीसँगको भलाकुसारी । ‘तपाईं कसरी कवि बन्नुभयो ? कहाँबाट प्रेरणा पाउनुभयो ? ' कविजी केही बोलेनन् । कापीमा धुइँधुइँती लेखिरहे । केही समयमै ६÷७ पृष्ठको एउटा लेख तयार गरेर हामीलाई दिए । शीर्षक थियो ‘कवि हुने धुनमा' । साना कमिलाका दानाजस्ता प्रस्ट बुझिने अक्षर तर डिका नहालेको ...!'
देवकोटाको जवाफ पढेपछि त्यो पाण्डुलिपि पोखरेलले सँगै गएका भरतराज जोशीलाई दिए । मैले डाक्टर पोखरेललाई सुनाएँ- तपाईंको प्रश्नको उत्तर त ‘दाडिमको रूखनेर' शीर्षकमा छापियो उहिल्यै, निबन्ध बनेर । शीर्षकचैँ जस्ताको तस्तै- ‘कवि हुने धुनमा' ।
पोखरेल मुसुक्क मुस्कुराए मात्र । केही बोलेनन् ।
०००


डाक्टर पोखरेललाई अरू केही चिन्ता छैन । ठान्छन् उनी, ‘मैले जे गरेको छु- ठीक गरेको छु । मलाई सम्पूर्ण सेवाग्राही जनताले सम्झिदिए भने पनि धन्य हुनेछ ।' सुरुमा उनले आँखारोग उपचारका लागि दक्ष जनशक्ति निर्माण गर्नका लागि ठूलो तपस्या गरे । थुप्रै विद्यार्थीलाई सम्बन्धित विषयको विज्ञ बनाउन, तिनीहरूको गाँस-बास-कपासको ग्यारेन्टी गर्न उनले अहोरात्र आफूलाई समर्पित गराए । उनले सिकाएका, पढाएका र केही बन्न प्रेरणा दिएका विद्यार्थी विश्वमा चिनिएका छन्, आज । नाम र दाम दुवै कमाएका छन् ।
थुप्रै चेलाचेलीका गुरु हुनुको गौरवलाई एउटै वाक्यमा यसरी प्रस्तुत गर्छन् पोखरेल, ‘गुरु वास्तवमा महान् चरित्र रहेछ । माझीजस्तो । अरूलाई तारिदिने र आफूचैं सधैं तैरिरहने ।'
आज पनि हप्ताको तीनचार दिन बानेश्वरको एभरेस्ट अस्पताल जाने गर्छन् र आँखाका बिरामीको उपचार गर्छन् । उमेरले चार बीस कटिसके तर पनि जोश उस्तै छ । शारीरिक व्यायाम, सन्तुलित भोजन र प्रिय गृहिणीसँगको सहकार्य, उनलाई जीवन्त तुल्याउने केही आधार हुन् । योभन्दा बढ्ता पाएका छन्-हजारौं÷लाखौं सेवाग्राहीको माया-आशीर्वाद । वैज्ञानिक पद्धतिमात्र होइन । उनीगाउँगाउँमा पुगेर परम्परागत विधि-विधानका साथै धामीझाँक्रीको विश्वासमा बसेका जनतालाई समेत भेटेर चेतना दिने काममा उत्तिकै क्रियाशील छन् । कैयनपटक धामीझाँक्रीलाई सेमिनारमा बोलाएर परम्परागत उपचार विधिमा आधुनिकताको समेत मि श्रण गर्न उनले सुझाइसकेका छन् । पोखरेल ठान्छन्, ‘जीवन आदिमता र वर्तमानको ‘फ्युजन' हो ।' परम्परालाई ध्वस्त बनाउँदैमा नयाँ निर्माण नहुने उनको तर्क छ ।
अन्तिम प्रश्न गरेँ, ‘अबको योजना ? ' ‘मलाई एउटै चिन्ता छ । आँखारोग उपचारमा भित्रिएका प्रविधि र दक्ष जनशक्तिले सबै नेपालीको दीर्घकालीन सेवा गर्न सकोस्÷सकून् । दलीय भागबन्डामा स्वास्थ्य क्षेत्रलाई नपारियोस् । मलाई सम्झियून् या बिर्सियून तर आँखाको अन्धोपन भएर कोही बाँच्न नपरोस् । गर्न धेरै बाँकी छ..।'
स्रोत : अन्नपूर्ण पोस्ट, फुर्सद (२०७४ साउन ७ गते शनिबार, पृष्ठ-घ)
लिङ्क : http://annapurnapost.com/news/75851

No comments: