( कृष्ण धरावासीको चर्चित कथा- झोलाका बारेमा सुजित मैनाली, कृष्ण धरावासी र राजिन पनेरूद्वारा गरिएको वहश)
अन्नपूर्ण पोस्टको शनिबारीय परिशिष्टांक ‘फुर्सद’का गत दुई अंक (मंसिर १ र ८) मा दुई आलेख प्रकाशित भए। पहिलो सुजित मैनालीद्वारा लिखित सतीप्रथाको अपव्याख्या र दोस्रो कृष्ण धरावासीद्वारा लिखित ‘जति सकेँ त्यति लेखेँ’ । यी दुईमध्ये पहिलो आलेख धरावासी लिखित ‘झोला’ कथामा सतीप्रथाको अपव्याख्या गरिएको विषयलाई लिएर लेखिएको थियो भने दोस्रो मैनालीको आलेखलाई लिएर आख्यानकार धरावासीद्वारा गरिएको ‘एन्टी थेसिस’ अर्थात् ‘प्रतिवाद’।
०००
मैनाली : धरावासीले ‘झोला’ लेख्नुअघि जंगबहादुरले जारी गराएको मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महल पढेको भए बेस हुन्थ्यो ।
धरावासी : मैले राणाकालमा सतीप्रथाबारे के–कस्ता कानुन थिए वा थिएनन् भन्नेबारे सामान्य अध्ययन मात्र गरेको थिएँ। तिनलाई शोधकै तहसम्म पुर्याउने आवश्यकता महसुस गरिएनछ होला। मलाई त्यो हदसम्म अध्ययन गर्ने आवश्यकता महसुस भएन।
माथिको सन्दर्भलाई हेर्दा सुजितको भनाइलाई धरावासीले सजिलैसँग प्रतिवाद गरेका छन् - इतिहास मेरो अध्ययनको विषय होइन।
धरावासीको निष्कर्ष छ— यीभन्दा अझ धेरै जिज्ञासा उठ्ने ठाउँ प्रशस्त होलान् ‘झोला’ कथामा। ती सबै जिज्ञासाको जवाफ अब कथा आफैंले दिँदै जानुपर्छ। हुन त यी उत्तर पनि लेखकले दिइरहनु नपर्ने हो तर यी जिज्ञासा मैनालीमार्फत धेरै पाठकबाट आएका हुन् भन्ने ठानेर एकपल्टलाई कठघरामा उभिएको मात्र हुुँ।
आउनोस् यही दुई ‘वाद’–‘प्रतिवाद’ मा रहेर एकैछिन ‘संवाद’ गरौं...
०००
धरावासीसँग एकैछिन...
म प्रत्यक्ष रूपमा धरावासीलाई चिन्दिनँ। यद्यपि म उनको लेखनीसँग धेरथोर परिचित छु। मैले बुझेअनुसार उनी आख्यानकार मात्र होइनन्, गम्भीर समालोचक पनि हुन्। उनका ‘लीला विमर्श’, ‘लीला लेखन’, ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू’ जस्ता समालोचनात्मक कृति प्रकाशित छन्। तीमध्ये उनको महत्त्वपूर्ण समालोचनात्मक कृति ‘लीलालेखन’सँग सम्बन्धित छ।
सन्दर्भ १
२०६६ सालमा पोखराको रेडियो बाराहीको ‘सिर्जनामञ्च’ कार्यक्रमका लागि रेडियोकर्मी रूपिन्द्र प्रभावीले लीलालेखनबारे लिएको लामो अन्तर्वार्तामा धरावासीले भनेका छन्, ‘लीलालेखनको मूल आशय ‘एब्सलुट ट्रुथ' अर्थात् निर्विकल्प सत्य भन्ने कुरा केही छैन भन्नु हो। लीलालेखन भ्रम हो र यसले भ्रमलाई चिनाउने काम गर्छ।’
धरावासीको उपर्युक्त भनाइमा सहमत हुने हो र लीलालेखनको सत्यलाई आत्मसात् गर्ने हो भने ‘झोला’ ऐतिहासिक तथ्यमा आधारित कथा नभएर ‘भ्रमको थुप्रो’ हो। अझ यसो भनूँ, लीलालेखनको फेर समाएर लेखिएका सबै ‘टेक्स्ट’ भ्रम र भ्रमलाई चिनाउने कृतिबाहेक अरू केही होइनन्। के यही हो सत्य ?
०००
सन्दर्भ २
लीलालेखनका प्रवर्तक इन्द्रबहादुर राईलगायतले नेपाली हावापानी तथा माटोसँग सुहाउने गरी लीलालेखनको अवधारणा बनाए। पूर्व र पश्चिमलाई जोडेर-तोडेर र केही मिसाएर बनाइएको लीलालेखन खासगरी उत्तरआधुनिकताकै एउटा परिस्कृत स्वरूप हो। यसैको फेर समाएर आख्यान र समालोचनाको मैदानमा उत्रिएका धरावासीका ‘राधा’, ‘टुँडाल’, ‘झोला’ आदि आख्यानात्मक कृति यसैको उपज हो भन्दा अतिशयोक्ति नहोला। यद्यपि लीलालेखन र उत्तरआधुनिकता फरक धारणा हुन् जसका सम्बन्धमा सम्बन्धित बहस पक्षबाट भएका छन्।
पंक्तिकारको आशय लीलालेखनको व्याख्या गर्नु होइन। यत्ति हो, ‘लहरा तान्दा पहरा थर्कियो।’
समालोचक कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफमा प्रा. कृष्ण गौतम भन्छन्, ‘समालोचक आविष्कारात्मक हुनुपर्छ, सिर्जनशील हुनुपर्छ र ज्यादा अध्ययनशील’ (पाण्डुलिपि, १ः८, पुस–माघ, २०७१, अन्तर्वार्ता)। सायद यस्तै गुण आफूमा आरोपित गराएर मैनाली धरावासीको ‘झोला’ खोतल्न पुगे।
गज्जब छ ! एउटा ‘झोला’ खोतल्ने र तिमीले बोकेको कुरा ठीक छैन भन्ने। अर्को झोलामा ‘जे बोकूँ, त्यो मेरो अधिकारको कुरा हो भन्ने। मेरो ठम्याइ छ, यसले पाठकलाई लीलाकै पंक्तिमा उभ्याएको छ अर्थात् भ्रमको प्रदर्शन गराएको छ।
लेखक स्वतन्त्र हुन्छ र हुनुपर्छ। यसमा दुई मत छैन। कुन विषयलाई कति मात्रामा प्रयोग गर्ने उसको अधिकारको कुरा हो।
रोँला वार्थ भन्छन्, ‘सिर्जनापछि लेखकको मृत्यु हुन्छ।’ वार्थको स्टेटमेन्ट (कथन)सँग म सहमत छैन। वार्थ महोदयको कुरा साँचो हुन्थ्यो भने धरावासी इतिहासको लौरो टेकेर पाठकको अदालतमा उभिन आउँदैनथे। यहाँनेर धरावासी चुकेका छन्— दर्शन बोक्छन् लीलाको र भन्छन् सबै कुरा भ्रम हो। अनि सुटुक्क आउँछन् पाठकीय अदालतमा र फेरि भन्छन्— यी जिज्ञासा मैनालीमार्फत धेरै पाठकबाट आएका हुन् भन्ने ठानेर एकपल्टलाई कठघरामा उभिएको मात्र हुुँ।
सिद्धान्तमा अडिग हुने हो भने र आफ्नो स्वतन्त्रतामा रहने हो भने धरावासीलाई एक पटक होइन कुनै पनि समय पाठकको अदालतमा आउनुपर्दैन। ‘एकपल्टलाई कठघरामा उभिएको मात्र हुँ’ भन्नुको आशय हो— मभित्र पाठकको जिज्ञासा छ। मैले जिज्ञासा मेटाउनुपर्छ अथवा प्रतिउत्तर दिनुपर्छ।
उपर्युक्त सन्दर्भले प्रस्ट पार्छ— लेखकसँग आफ्नो रचनाको पूर्ण जिम्मेवारी छ। उनलाई इतिहास पढ्ने फुर्सद नभए पनि अथवा भनौं ऐतिहासिक तथ्यलाई पर्गेल्ने समय नभए पनि पाठकलाई जवाफ दिने समय रहेछ।
मेरो ब्रह्म भन्छ, धरावासीमाथि हजारौं धरावासीको आशा एवं भरोसा छ। उनी एउटा सफल आख्यानकार हुन्। उनैको ‘राधा’ र ‘टुँडाल’ क्रमशः महाभारतीय मिथक र सांस्कृतिक बिम्ब बोकेको उपन्यास हो। उनले मलाई ऐतिहासिक अथवा सांस्कृतिक चेतनाको ज्ञान नभए पनि हुन्छ भन्न लागे भने हामी उनलाई ऐतिहासिक, सांस्कृतिक, मिथकीय चेत बोकेका आख्यानकार हुन् भन्ने कि नभन्ने ?
एउटा सामान्य पाठकको हैसियतबाट भनूँ, ‘इतिहास मेरो अध्ययनको विषय होइन’ भनेर धरावासी ‘स्किप’ हुन मिल्दैन। उनलाई पाठकले मिथकीय, सांस्कृतिक, ऐतिहासिक आख्यानकार भनेर सम्बोधन गर्छन् भने त्यस सम्बोधनलाई उनले बिर्सनु हुँदैन।
मैनालीसँग एकैछिन...
‘झोला’लाई लिएर मैनालीले जुन तर्क गरे त्यो नेपाली साहित्यका लागि बहसको विषय हो। यद्यपि म उनको लेखको शीर्षक ‘सतीप्रथाको अपव्याख्या’सँग सहमत छैन। उनले ‘अपव्याख्या’को ठाउँमा ‘अल्पव्याख्या’ शब्दको प्रयोग गरेको भए त्यो सान्दर्भिक हुने थियो। उनले भनेजस्तो सबैकुरा अपव्याख्याको तहमा छैन।
दृष्टान्तका रूपमा मैनालीको भनाइलाई लिऔं, ‘यहाँ (झोलामा) धरावासीले श्रीमान्को मृत्युपछि सती जानु अनिवार्य रहेको अर्थात् सतीप्रथा महिलाका लागि बाध्यकारी रहेको बताएका छन्। यस्तो लेख्दै गर्दा नेपालमा सतीप्रथा कहिल्यै बाध्यकारी थिएन भन्ने पत्तो उनले पाएनन्।’ यसको जवाफ धरावासीले दिएका छन्, जुन आख्यानका सन्दर्भमा सत्य निकट देखिन्छ।
धरावासी प्रतिवादमा भन्छन्, ‘त्यो (झोला) कथा नै सती पठाएको कथा हो। समाजमा बाध्यकारी नभए पनि सती पठाउने चलन बाक्लै थियो। सती पठाइने चलन बाध्यकारी नभए पनि छन चाहिँ थियो र त्यसमध्ये कुनै महिलालाई सती पठाएकै कारणले लेखिएको हो, अन्यथा त्यो कथै लेखिने थिएन।’
मैनाली र धरावासीको क्रिया–प्रतिक्रियामध्ये मैनाली तथ्यमा आधारित देखिन्छन् भने धरावासी कथ्यमा। मैनालीको आशय छ— लेखकबाट कानुनका कुरा पढिनुपर्छ र त्यसलाई व्यवहार (आख्यान)मा ल्याइनुपर्छ। यद्यपि हामी जुन समाजमा बसेका छौं, त्यो समाज कानुनभन्दा माथि छ। अर्थात् समाजका रीतिस्थिति, परम्परा, संस्कार कतिपय प्रसंगमा कानुनभन्दा भिन्न छ।
सामान्य दृष्टान्तका लागि हेरौं— छुवाछूत प्रथा। कानुनको ठेलीले छुवाछूतमुक्त समाज/राष्ट्रको घोषणा गरे पनि अझै हाम्रो समाज छुवाछूत मुक्त भने भएको छैन। यसर्थ ‘कथनी’ र ‘करणी’ फरक हुनु हाम्रो समाजको दुर्भाग्य हो। जुन ‘झोला’को ‘सतीप्रथा’ र मैनालीको व्याख्यामा आएको कानुनको ‘सतीप्रथा’ छ, त्यसमा फरक देखिनु स्वाभाविक छ।
मैनालीले आलेखमा ल्याएका तथ्यहरू इतिहाससँग जोडिएका छन्। ती तथ्यसँग आएका गर्भे टिप्पणी (साइटेसन)ले आलेखलाई थप आधिकारिक बनाएको छ। यद्यपि मैनालीले जुन विषयमाथि टिप्पणी गरे, त्यो विषय आख्यानको विषय हो। यसर्थ पहिले ‘आख्यान’ के हो बुझौं, त्यसपछि ‘इतिहास’।
आख्यान
‘आख्यान’ संस्कृत स्रोतको शब्द हो। यो शब्द ‘ख्या’ धातुमा ‘आ’ उपसर्ग र ‘अन’ (ल्युट) प्रत्यय लागेर बनेको छ र यसको अर्थ ‘बोल्नु, घोषणा गर्नु, समाचार, पुराना कहानीतिर निर्देश गर्नु, कथा, कहानी’, तथा ‘विशेष रूपको काल्पनिक वा पौराणिक उपाख्यान’ (आप्टे, वामन, शिवराम–सम्पा. ई. १९८०, संस्कृत हिन्दी कोश, पृ.१३९) भन्ने हुन्छ। ‘इन्साक्लोपेडिया ब्रिटानिका’मा आख्यानलाई ‘तथ्यमा आधार नभई कल्पनाद्वारा सिर्जना गरिने साहित्यलाई आख्यान भनिन्छ, यद्यपि यो सत्य कथा वा अवस्थामा नै आधारित किन नहोस्’ भनिएको छ। यसैगरी जे.ए. कडन, ‘डिक्सनरी अफ लिटेररी ट्रम्स एन्ड लिटेररी थियरी’मा आख्यानलाई यसरी चिनाउँछन्— आख्यान झुूठको आवरणले छोपिएको अन्तरलको सत्य हो : यो यस्तो जिन्दगी हो, जुन मानिसले चाहे वा नचाहे जस्तो हुँदैन। त्यसले यसको आविष्कार गरिन्छ।
माथिका तथ्यबाट यो निष्कर्ष निकाल्न सकिन्छ, आख्यान बनाइएको कथा हो। सत्यको अंश भए पनि यसको प्रस्तुति कल्पनाको माध्यमद्वारा हुन्छ। यसर्थ प्रस्ट हुन्छ, ‘झोला’ आख्यानात्मक कृति (कथा) हो।
इतिहास
इतिहास शब्दको व्युत्पत्तिगत अर्थलाई हेर्दा यस्तो हुन्छ, इति+ह+आस (यस्ता+अवश्यै+भएको थियो। वास्तवमा इतिहास सत्यको निकट पुगेर सन्धान गरिन्छ। यो सत्यको स्थापनाका लागि गरिने खोजी हो। इतिहासका सन्दर्भमा इ.एच. कार भन्छन्— इतिहासकार र उसले प्राप्त गरेका तथ्यबीचको अन्तरक्रियाको निरन्तर प्रक्रिया तथा वर्तमान र भूतका बीचको अन्त्यहीन संवाद हो (ह्वाट इज हिस्ट्री ? , सन् १९८६, पृ.३०)।
इतिहासकै बारेमा अर्का विद्वान् आर.जी. कलिङउड भन्छन्— इतिहास भनेको एक किसिमको अनुसन्धान वा खोजी हो (दी आइडिया अफ हिस्ट्री, सन् १९९४, पृ.९)। यी दुई विद्वान्को भनाइबाट हामी के बुझ्छौं भने इतिहास भूत, वर्तमान र भविष्यसँग गरिने एक अन्त्यहीन संवाद हो, जहाँ निरन्तर खोजी वा अनुसन्धान गरिन्छ।
दयाराम श्रेष्ठ इतिहासको स्वरूप बारे भन्छन्— इतिहासले प्रामाणिक तथ्यहरूको अनुसन्धान गरी तिनको प्रशोधन पनि गर्छ। इतिहास मानवीय चिन्तनधाराको पहिचान गराउने दर्पण हो (साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ, वि.सं.२०५९, पृ.५)।
इतिहाससम्बन्धी उपर्युक्त परिभाषा एवं स्वरूपका आधारमा ‘झोला’को ‘सतीप्रथा’ विगत र वर्तमानबीचको संवाद भएको बुझिन्छ। इतिहासकारले त्यस (झोला) भित्रको प्रामाणिक तथ्यहरूको अनुसन्धान गरी तिनको प्रशोधन गर्नुपर्छ। यद्यपि सन्दर्भ आफैंमा प्रस्ट छ— झोला आख्यानात्मक कृति हो, इतिहास होइन। यसर्थ यसलाई पर्गेल्न इतिहास र आख्यानबीचको सम्बन्ध बुझ्नु आवश्यक छ।
इतिहास र आख्यानबीचको सम्बन्ध
माथिका दुई शीर्षक आख्यान र इतिहासमा तिनको परिभाषा र स्वरूप सामान्य रूपमा आइसकेको छ। कल्पनातत्वको निकट रहने आख्यान र तथ्यसँग निकट रहने इतिहासको स्वरूप फरकफरक रहे पनि यी दुई एकअर्कामा अन्तर्घुलन हुन्छ। कारण इतिहासमा आख्यान र आख्यानमा इतिहासको मिश्रण हरेक घटनामा जोडिएर आउँछ। ‘झोला’लाई नै हेरौं, सतीप्रथासम्बन्धी घटना सत्य घटनामा आधारित इतिहास हो भने त्यसमा आख्यानकारको कल्पना मिश्रत सतीप्रथाको विषय आख्यान हो।
ऐतिहासिक तथ्यलाई पाठमा ल्याइन्छ भने त्यस्ता रचनाकारमा ऐतिहासिक चेतना जरुर चाहिन्छ। लेखकसँग पाठकको ठूलो आशा हुन्छ। लेखकको व्यक्तित्व निर्माण उसको अध्ययनशील प्रवृत्तिले गर्छ, जसले उसलाई पाठकको अदालतमा स्थापित गर्छ। ऐतिहासिक अध्ययनबारे योगेश राज ‘इतिहास अध्ययनमा आख्यान : समानान्तर संवादको स्थिति’ शीर्षकको लेखमा भन्छन्— ऐतिहासिक अध्ययनको अभीष्ट हो ।
समयान्तरले टाढिएका व्यक्ति, घटना वा परिस्थितिलाई यथाकालक्रम पहिल्याउनु, कार्यकारण सम्बन्धको प्रकाशमा तिनको सुसंगत व्याख्या गर्नु र सम्भव भएसम्म देशकाल निरपेक्ष ऐतिहासिक नियमलाई सूत्रबद्ध गर्नु (बहा : जर्नल, वर्ष १, अङ्क १, २०६१, पृ.२)। रचनाकारले इतिहास चेतना र कल्पनालाई समन्वय गर्नु उत्कृष्ट ऐतिहासिक कृतिको जन्म हुनु हो। यसर्थ कृतिमा इतिहास चेतना आवश्यक छ। यसलाई रचनाकारले उपेक्षा गर्न मिल्दैन।
नेपाली साहित्यमा ऐतिहासिक चेतना
सुजित मैनाली र कृष्ण धरावासीको बहस नेपाली साहित्यका लागि नयाँ बहस होइन। यद्यपि हाम्रा साहित्यमा प्रयोग गरिएका ऐतिहासिक तथ्य सत्यको निकट छ या छैन? ऐतिहासिक भनिएका त्यस्ता कृतिहरू (उदाहरणका लागि डायमनशमशेरको सेतो बाघ, वसन्ती आदि, माधवप्रसाद घिमिरेको राजेश्वर खण्डकाव्य, बालकृष्ण समको भीमसेनको अन्त्य, अमरसिंह नाटक इत्यादि)मा इतिहासको मात्रा कति छ र कल्पनाको प्रयोग कति गरिएको छ?
यी र यस्ता प्रश्नबारे बहस भने अति आवश्यक छ। ‘झोला’ भित्रको सतीप्रथाले उब्जाएको यो प्रश्नलाई पर्गेल्न सक्ने हो भने आख्यान र इतिहासको वास्तविक सम्बन्ध र यसलाई लेखकले प्रयोग गर्दाको सन्दर्भलाई आमपाठकले राम्रोसँग अध्ययन–मनन गर्न पाउनेछन्। यति मात्र होइन, आख्यान र इतिहासमाथि हेर्ने धारणा पनि परिवर्तन हुनेछ। ऐतिहासिक ‘सत्य’ र ‘तथ्य’ फरक विषय हुन्। सत्यलाई लिएर नै आख्यानीकरण गरिन्छ।
समग्रमा मैनालीको ‘वाद’ र कृष्ण धरावासीको ‘प्रतिवाद’ आआफ्नै स्थानमा महत्त्वपूर्ण छन्। तथापि आरोप–प्रत्यारोपमा भन्दा पनि सत्यतथ्य केलाउन र विधा वा क्षेत्रको धर्मअनुसार कर्म गर्न आवश्यक छ। यो सामान्य बहस होइन। यसले गम्भीर भएर ऐतिहासिक तथ्यमाथि अन्वेषण गर्न र इतिहासको त्रिकालीक सम्बन्धका आधारमा साहित्यिक कृतिको अनुसन्धान गर्न आह्वान गरेको छ।
‘तर्कका निम्ति तर्क’ होइन, यस्ता बहसले हाम्रा इतिहास–साहित्यको उत्खनन गर्न सकोस्। अध्ययन संस्कृतिलाई उचाइमा पुर्याउन सकोस्। हजारौं धरावासी र मैनालीहरू यसैगरी सप्रमाण पाठकको अदालतमा आइरहून्। स्वस्थ बहस गरिरहून्।
०००
No comments:
Post a Comment