आदरणीय अविनाश
दाइ !
तपाईँसँगका केही नेपथ्य
किस्साहरू छन् । यी किस्साहरू मेरा लागि खास छन् । समय रह्यो भने पढ्नुहोला ।
साथमा तपाईँको जन्म दिवस । दीर्घजीवनको कामना गरेँ । बाँकी किस्साहरूबाटै ...
किस्सा १
पोखरा बसाइताकाको कुरा हो, गरिमाको
नियमित पाठक थिएँ । गोरखापत्र बाजेको पत्रिका पोखराको 'खास' थियो । पैसा तिरेर वा
नतिरेर पढ्नेको जमात सधैँ देख्न पाइने । पैसा
नतिर्ने छाँटकाँट देखे भने 'बाजे' यौनसाहित्यको लर्कोतिर देखाउँदै
भन्थे, 'ऊ त्यो पढ्नू । यहीँ बसेर ।'
ढिलै हात परे पनि गरिमा विशेष लाग्थ्यो
। गरिमाको 'गरिमा' थियो । लाग्थ्यो, 'कुनै दिन यसमा लेख छपाउन पाए !' मानौँ लेख
छापिएर आएको छ र उक्त प्रति बोकेर डेरामा दौडिरहेको छु । व्यक्ति विशेष
अन्तर्वार्ता र समालोचना मेरा लागि प्रिय थिए किनकि ती आलेख मेरो अध्ययनका लागि थप
खुराक बन्थे ।
०००
पोखराको बागबजारमा थिए, प्रसिद्ध
साहित्यकार सरुभक्त । उनैको आँगनबाट बिन्ध्यवासिनी आउने-जाने गर्दागर्दै भक्त
दाइको अघोषित 'फ्यान' हुन पुगेँ । भक्त दाइको बारेमा केही अध्ययन गरेपछि उनका
नाट्यलेखनले राम्रोसँग तान्न थाल्यो । खासगरी 'शून्यवादी दर्शन' र सृजना । धेरै
नाटक लेखेर पनि किन सरुभक्त उपन्यासकार मात्र बनिरहे ? मभित्र एउटा प्रश्न
छचल्किरह्यो । लाग्यो, यसबारे अब मैले केही लेख्नुपर्छ । डेरामा पुगेपछि गरिमाको
अन्तर्वार्ता स्तम्भ सम्झिएँ ।
गज्जब हुने भो । साहित्यको गौरव 'गरिमा'
। पाठकको गौरव सरुभक्त । 'उपन्यासले चेपेका सरुभक्त-नाटककार भन्न नचाहने पाठक'
शीर्षक तयार गरेँ । पहिला सम्पादकलाई फोन गर्छु, कुरो मिल्यो भने सरुभक्त दाइलाई
भेट्छु ।
०००
तत्कालीन समय गरिमाका सम्पादक थिए-
अर्का प्रसिद्ध नाटककार।साहित्यकार अविनाश श्रेष्ठ । फोन नं. खोज्नै मलाई २ दिन
लाग्यो । जसलाई मेसेज पठाएँ, उनले २ दिनपछि अविनाश श्रेष्ठको मोबाइल नं. दिए । बडो
हिम्मत जुटाएर फोन गरेँ-उठेन । पुनः गरेँ-उठ्यो । 'सर नमस्कार ! म राजिन पनेरू ।
गरिमाको नियमित पाठक । पोखराबाट बोल्दै छु । पृथ्वीनारायण बहुमुखी क्याम्पसमा
नेपाली विषयमा डिग्री पढ्न लाग्दै छु ।' श्रेष्ठले बीचमै रोकेर भने- 'नमस्कार !
अँ, भन्नोस् त विषय के थियो ?' मामुली
पाठक सम्झन्थेँ, ठूलै रहेछु जस्तो लाग्यो । पाठकको राम्रो रेस्पोन्स गरे । 'सर, म
सरुभक्तको अन्तर्वार्ता लिन चाहन्छु । गरिमाको लागि । राम्रो विषय रोजेको छु ।
नाटक केन्द्री छ । छाप्न पर्यो ।' गरिमामा छाप्न के गर्नुपर्छ, मलाई केही थाहा
थिएन । ठानेँ, मेरो कुरामाथि सुनुवाइ हुनेछ किनकि मैले छानेको विषय र पढेको विषय
गरिमाको लागि 'फिट' हुनेछ । तर त्यसो भएन । उनले सङ्क्षिप्त जवाफ दिए, 'त्यसरी
अन्तर्वार्ता लिन मिल्दैन भाइ । विषय र व्यक्ति हामीले छान्नुपर्छ ।' मेरो सारा सपना टुट्यो ।
गरिमामा छाप्नु चानेचुने कुरा होइन रहेछ
। फोन राखेपछि लामो सास फेर्दै श्रेष्ठकृत नाटक 'अश्वत्थामा हतोहतः' को फोटोकपि
भर्जन हेर्दै भनेँ - 'अन्तर्वार्ता हतोहतः !'
०००
किस्सा २
डिग्री पढ्नका लागि नेपाली केन्द्रीय
विभाग कीर्तिपुरमा आएपछि पुनः अविनाश श्रेष्ठसँग नजिक हुनु पर्यो । गरिमाका
विभिन्न अङ्कमा प्रकाशित समालोचना, विदेशी साहित्यकारका जीवनी र अन्य काम लाग्ने
(अध्ययन सामग्रीका रूपमा) आलेख जम्मा गर्नका लागि साझा प्रकाशनको बिक्री कक्ष
प्रदर्शनिमार्गमा पुगेँ । केन्द्रीय पुस्तकालयबाट सूची बोकेर साझा प्रकाशनमा
पुग्दा त्यहाँ उक्त सामग्री नपाइने र त्यसका लागि पुलचोक (साझाको प्रधान
कार्यालय।प्रकाशन कक्ष) जानुपर्ने सुझाव पाएँ । पढ्ने रहर त्यसै मर्ने कुरै भएन ।
साझाको प्रधान कार्यालयमा पुग्दा
गरिमाका सम्पादक श्रेष्ठले गरिमा छाडिसकेको सूचना प्राप्त गरेँ । श्रेष्ठलाई
भेट्ने रहर पूरा भएन । सम्बन्धित फाँटमा पुगेर आफूलाई सूचीमा भएका गरिमाका अङ्कहरू
पाऊँ भन्ने निवेदन पेस गरेँ । सुनुवाइ भएन । एक कर्मचारी (जसको नाम मैले उल्लेख
गरिनँ) ले रुखो जवाफ दिए, 'यस्ता कुरा यहाँ पाइँदैन । साझा नै सकिन लाग्या बेलाँ कसले
जम्मा गरेर राख्छ र तिम्रा गरिमा ? छैन । अन्तै खोज । कस्ता-कस्ता मान्छे आउँछन् ?'
कत्रो आशा बोकेर गएको मान्छे, कर्मचारीको व्यावहार देखेर रिसको सीमा रहेन । एभी
न्यूज खुब चर्चामा थियो तिनताका । मैले एभी न्युज बोलाउने धम्कि पेस गरेँ । नियमित
पैसा नपाएको झोँक बोकेर बसेको कर्मचारीलाई पत्रकार-टेलिभिजन नौलो लागेन । ऊसँग
सवाल-जवाफ गरेर समस्या समाधान हुने नदेखेपछि म साझाकी प्रबन्ध निर्देशक ममता झाको कार्यकक्षमा
पुगेँ । उनी कार्यकक्षमा नरहेको सूचना पाएँ । सबै कर्मचारी निराश र भित्रभित्रै
दिक्क थिए-साझा डुब्यो ! हामी डुब्यौँ !
०००
साझा डुबे पनि मेरो आशा डुब्न पाएन । फर्कन
गेट पुग्दै गर्दा गेटमा बस्ने दाइले सोधे, 'भाइ, पाउनुभयो त ?' उनले मेरो
समस्यालाई सुरुबाटै नियालेका रहेछन् । किनकि कर्मचारीसँगको सोधपुछका क्रममा उनी
नजिक थिए । 'पाइनँ दाइ !' उनले समस्याको चुरो बुझेर कुरो फुकाए, 'तपाईँ सिधै प्रशासन
प्रमुख रूद्र सरको कार्यकक्षमा जानोस् र जे छ त्यो भन्नोस् । उहाँले केही
गर्नुहुन्छ ।' मरिसकेको विरुवामा कुनै धर्मात्माले जल छर्किदिएझैँ भयो । 'हवस्
दाइ, धन्यवाद !'
कार्यकक्ष पुग्नुपूर्व बाहिरै मैले
मान्छेहरूको लहरमा प्रश्न गरेँ, 'प्रशासन
प्रमुख रूद्र न्यौपाने सर को हुनुहुन्छ ?' ५० कटेका एक व्यक्तिले जवाफ दिए,
'भन्नोस्, किन ? म नै हुँ ।' मैले पहिलो वाक्यमै भनेँ, 'हजुर सर, अविनाश श्रेष्ठ
सरले लेख्नुभएको नाटक 'अश्वत्थामा हतोहतः' जस्तै बनाए मलाई हजुरका कर्मचारीले ।'
सम्पूर्ण वृत्तान्तपछि समाधान निस्कियो । न्यौपाने सर साह्रै दयालु रहेछन्, 'भाइ,
१ हप्ता समय दिनोस्, म मिलेजति खोजेर राखिदिन्छु ।' धन्यवादको सीमै रहेन । १ हप्तापछि साझाबाट फोन आयो । लिस्टमा भएका १४०
वटा गरिमामध्ये ११४ वटा गरिमा विशेष छुटमा हात पर्यो । लाग्यो गरिमाभित्र गरिमा
अझै मरेको रहेनछ । गरिमामा मेरो नाम छाप्ने रहर काठमाडौँ आएपछि पूरा भयो ।
श्रेष्ठले गरिमा छाड्नुभएपछि निस्किएको पत्रिकामा १ पुस्तक समीक्षा र १ समालोचना
छापियो ।
०००
किस्सा ३
गज्जबको संयोग जुर्यो । अविनाश
श्रेष्ठसँग दोस्रोपटक बोली मिसियो तर फरक ढङ्गले । यसपालि अन्तर्वार्ता लिने पालो
मेरो थियो र नायक थिए-स्वयम् अविनाश श्रेष्ठ । 'रङ्गदृष्टि' शीर्षकको ग्रन्थका
लागि म एउटा आलेख तयार गर्दै थिएँ, 'नाटकको पूर्णतामा सर्जक, निर्देशक, कलाकार र
प्रेक्षकको भूमिका' । यसकै निम्ति श्रेष्ठसँग वचन मिसाएँ । बडो गज्जबको उत्तर
मिल्यो र उनी पुलकित भए । भने, 'नाटकलाई माया गर्ने, अध्ययन गर्ने अझैँ मरेका रहेनछ्न्
। अध्ययनका सन्दर्भमा नाटक उर्वर भूमि हो ।'
०००
श्रेष्ठको श्रेष्ठत्तर उत्तरले उनलाई
भेट्ने मनसुवा अझ उर्वर भयो । प्रत्यक्ष रूपमा उनीसँग दिलै खोलेर भेट्ने अवसर
मिलेको छैन । परन्तु उनीसँग भेट नभए पनि कुनै गुनासो छैन । रङ्गमञ्चमा उत्रिएर
संवाद गर्न नसके पनि नेपथ्य किस्साहरू नै काफी छन्, अविनाशसँग नजिक हुन । पिताजी
उमेरका श्रेष्ठलाई 'दाइ' भन्न मजा आउँछ । फोनबाटै भनेँ, 'दाइ, अश्वत्थामा बडो मुस्किलले
हात पारेको कृति हो । मैले लामो आलेख लेखेको छु, 'अश्वत्थामा नाटकमा मिथक'
शीर्षकमा ।
०००
सक्कलबमोजिम नक्कल सही छ (फोटोकपि) ले चित्त
बुझाउन सकिनँ । पछि ने.प्र.प्र. को पुस्तक मेलामा धेरै पुस्तकको छेउमा ५ प्रति
'अश्वत्थामा' जीर्ण अवस्थामा भेटेँ । पाँचै प्रति २५ प्रतिशत छुटमा घरमा ल्याएँ तर
अहिले ४ प्रति कता भौतारिरहेछन्, पत्तो छैन । १ प्रति आजसम्म मसँगै छ । बेला-बेला
गुनासो गर्छ, 'व्यास (अविनाश श्रेष्ठ) ले मलाई टुहुरो छाडे । म बुढो हुँदै गएँ ।
जीर्ण शरीर लिएर वाक्यहरूमा कतिञ्जेल बाँचूँला खै ? कसैले मलाई हृदयबाटै स्पर्श
गरिदेला भन्ने लाग्न छाड्यो । मानष पिता व्यास के गर्दै छन् ? पत्तो छैन । सुनेको
थिएँ, पुनः अश्वत्थामा जन्माउँदै छन् रे । मेरा मानष पितालाई जगाउने काम घिमिरे
युवराजलाई छाडेको छु । उनैको आशा छ, केही
होला कि त ?'
अश्वत्थामाले 'समय, समय अनि समय' लिएर
जन्मिए पनि उसको चित्त अझै बुझेको छैन । आज पनि उस्तै छ समय । अश्वत्थामाहरूको
श्रापित अवशेष । पुनः अश्वत्थामा उवाच, 'मसँगै फुल्दै छ मेरा मानष पिताको पनि उमेर
। उनलाई राम्रोसँग थाहा छ, मेरो पुत्र अश्वत्थामाझैँ चीरञ्जीवी उमेर मसँग छैन
भन्ने । म उनलाई यत्ति भन्छु, अझ पनि अश्वत्थामाका रङ्गमञ्चीय संवाद जीवितै छन् ।
पात्र, समय, संवाद फेरेर केही किस्साहरूमा उठाइदिए अर्को अश्वत्थामा जन्मने थियो ।
यही आशा लिएर बाँचिरहेछु पल-पल । मेता मानष पितालाई दीर्घजीवी आशीर्वाद ।
अष्टचीरञ्जीवी 'अश्वत्थामा' जन्माइरहून् ।
०००
विनाश नहुने सृजनामा लागिरहनुभएका
अविनाश दाइ, मैले पहिला पनि भनेको थिएँ, 'दाइ, अब नाटकमा केही गर्नुपर्यो । निरन्तरता चाहियो । अस्वत्थामा टुहुरो हने भयो । मैले तपाईँलाई चिनेको नाटकले हो । मेरो लागि कविता, कथा द्वितीय
सन्दर्भ हुन् । जन्म दिनको दिनमा दिन शब्दबाहेक केही छैनन् । सामाजिक दूरी कायम
गरेर बस्न परे पनि नाटकको पाठकीय मन निकै नजिक छ । केही शब्दहरू तपाईँका कृतिमाथि
खर्चने अवसर पाएको छु । १३१ पृष्ठभित्र सङ्गृहीत 'अश्वत्थामा हतोहतः' र 'समय, समय
अनि समय' का संवादहरूले अझ पनि घोचिरहन्छ । अशेष शुभकामना ! बाँकी माथिका हरफले
भनिहाले । म के भनूँ ?
अन्त्यमा,
अश्वत्थामा
भन्छ -
" दुःखहरूलाई घाउहरूलाई,
विभीषिकाहरूलाई सङ्ग्रालयमा सजाएर रमाउने ए पङ्गु मानिसहरू हो ! मलाई घरिघरि
लाग्छ, अभिशप्त म होइन यो सारा युग नै अभिशप्त छ, अभिशप्त तिमीहरू छौ ।"
तपाईँको पाठक
राजिन
पनेरू
०००
No comments:
Post a Comment